२० वैशाख, काठमाण्डौँ । आज अपरान्ह ४ बजे बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिला बस्ने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः३० बजे बस्ने जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको व्यस्तता बढेकोले सचिवालय बैठक केही पछि सारिएको हो ।
उक्त बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन यसअघि गरेको प्रस्तावबारे थप छलफल हुनेछ ।
नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट मार्गप्रशस्त गरिदिन आग्रह गरेपछि विवाद छ ।
विवाद बढेपछि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव अघि सारेका थिए ।
बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए ।
साथै सोही दिन वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो वरियताको अध्यक्षका लागि समेत ओलीले प्रस्ताव गरेपनि नेपालले अस्वीकार गरिसकेका छन् । गौतमले भने ओलीको प्रस्तावप्रति सकारात्मक छन् ।