वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा

वास्तविकता वुझ्न वामदेव गौतम वालुवाटारमा

२० वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद हल गर्नेगरि आज सचिवालयको निर्णायक बैठक बस्दैछ । अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्ने कि नमाग्ने भन्नेबारे र स्थायी कमिटीको बैठकको मिति तय गर्नपनि ठोस निर्णय लिने बुझिएको छ ।

गत बुधबारको सचिवालय बैठकमा नै प्रधानमन्त्री ओलीको राजीनामा मागिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालले ओलीको राजीनामा मागेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूले राजीनामा नै दिनुपर्ने हो भने उपाध्यक्षसमेत रहेका सचिवालय सदस्य वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै सरप्राईज प्रस्ताव अघि ल्याएका थिए । त्यतिमात्रै होईन, प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत तेस्रो अध्यक्ष बनाउनेगरि प्रस्ताव ल्याएका थिए ।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्रीले सोच्दै नसोचेको प्रस्ताव ल्याएपछि असन्तुष्ट नेताहरुपनि आश्चर्यमा परेका छन् । वामदेवलाई प्रधानमन्त्री बनाउनकै लागि ओलीले यस्तो प्रस्ताव ल्याएको हो कि संकट टार्नको लागि ल्याईएको हो भन्नेबारेमा नेकपाकै शीर्ष नेताहरु द्धिविधामा छन् ।

केही समय पहिले अध्यक्ष दाहालले गौतमलाई राष्टियसभामा ल्याउने र संविधान संशोधन गरेर राष्टियसभा सदस्यपनि प्रधानमन्त्री बनाउनेगरि संविधान संशोधन गर्न प्रस्ताव गर्दा अध्यक्ष ओलीले ठाडै अस्विकार गरिदिएका थिए । तर, अहिले आएर ओलीले त्यही प्रस्ताव ल्याउनु भनेको झारा टार्न र विपक्षी गठबन्धन कमजोर तुल्याउनको लागि चालेको रणनीतिक चालमात्रै भएको पनि भन्ने गरिएको छ ।

वामदेव गौतम वालुवाटारमाः

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कोरोनापछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेका उपाध्यक्ष वामदेव गौतम ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

केहीबेर अघि गौतम बालुवाटार पुगेको प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए । त्यसका लागि ठोस छलफल र निर्णय गर्न आजै शनिबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बस्दैछ ।

बैठकअघि गौतम बालुवाटार पुग्नुलाई नेकपाभित्रै अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार गौतमले आफूनिकटका नेता तथा कानुनका जानकारहरुसँग संविधान संशोधनलगायतका बारेमा परामर्श गरेका थिए ।

गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा कुनै कानुनी र व्यवहारिक आधार नदेखिएपनि उत्साहित भएका गौतमको बाहिर भने आलोचना हुन थालेको छ । खासगरी अध्यादेश प्रकरणपछि (नेकपा) मा गौतम कार्यकारी अध्यक्ष, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी सहितको समिकरण तोड्दै ओली समूहमा लाग्ने हुन् या पुरानै समीकरणमा अडिने हुन् भन्ने पनि नेकपाभित्र चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर