नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग

नेपालमा चिनको सक्रियता बढ्योः चिनियाँ राजदूत यान्छी प्रचण्डसंगको भेटलगत्तै माधव नेपालसंग

१९ वैशाख, काठमाण्डौँ । जब जब नेपालमा सत्ता ढाल्ने र बनाउने खेल हुन्थ्यो तब भारतीय राजदूत र उच्च अधिकारीहरुको सक्रियता बढ्ने गर्दथ्यो । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा भारतीय भूमिका प्रत्यक्ष अप्रत्यक्ष देखिएकै हो ।

२०४६ सालको जनआन्दोलनताका भारतका नेता चन्द्रशेखरलगायत गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पुगेको इतिहास साक्षी छ । २०६२÷६३ को जनआन्दोलनताका भारतीय नेताहरु डा. करण सिंह र सीताराम यचुरीलगायतको छुट्टाछुट्टै ओहोरदोहोर भएकै हो । १२ बुँदे समझदारी दिल्लीमा भयो । जसले नेपालमा गणतन्त्र र माओवादीको सुरक्षित अवतरणको मार्ग तयार गर्याे । यसरी भारतको नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका रहँदै आयो ।

घटनाक्रम यसरी विकास भयो कि दिल्लीमा समेत प्रश्न उठ्यो नेपालको राजनीतिमा भारतको ठाउँ चीनले लिदैछ ? कतिपयले लिइसकेको भने । भारतीय नेता देखि सेनापतिले सम्म नेपालका लागि भारतको विकल्प अरु देश हुननसक्ने अभिव्यक्ति दिए । नेपालमा चीनको प्रभाव बढिरहेको टिकाटिप्पणी भइरह्यो ।

नेकपा एमाले र माओवादी मिलेर नेकपा बनेपछि चिनियाँ कम्युनिस्ट पार्टीसँगको संयुक्त प्रशिक्षणले भने अन्तर्राष्ट्रिय जगतसम्म तरंग ल्यायो । दुवै देशको सत्तारुढ दलहरुको संयुक्त प्रशिक्षण अर्थपूर्ण रह्यो । नेकपाभित्र प्रशिक्षणमा सहभागी हुन नेताहरुको प्रतिष्पर्धा नै चल्यो ।
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुँदै गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भयो । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुनुलाई निकै महत्वका साथ हेरियो । चीनको नेपालमा प्रभाव निकै बढिसकेको सन्देश पनि थियो त्यो ।

अहिले नेपाल कम्युनिस्ष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिंदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् । लकडाउनको समयमा उनी नेताहरुको घर घरमा पुगेर भेट गरिरहेकी छिन् । यस्तो सक्रियता विगतमा भारतीय राजदूतहरुले गर्थे ।

चिनियाँ राजदूत यान्छी प्रचण्डलाई भेटेलगत्तै माधव नेपालसंगः

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन् ।

आज बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेलगत्तै यान्छीले नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधव नेपाललाई पनि उनकै निवासमा भेट गरेकी हुन् ।

भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएका छन् ।

यसअघि प्रचण्डसँग यान्छीले झण्डै १ घण्टा भेट गरेकी थिइन् । भेटमा कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

यद्यपी विदेश विभागका उपप्रमुख रिजालले भने दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको बताएका छन् । तर कुराकानीको विषयवस्तुका बारेमा उनले केही खुलाएका छैनन् ।

केही दिनअघि राजदूत यान्छीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेकी थिइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर