नेकपा सचिवालयको बैठक निष्कर्षबिहीन, अर्को बैठक आउदो २० गते बस्ने

नेकपा सचिवालयको बैठक निष्कर्षबिहीन, अर्को बैठक आउदो २० गते बस्ने

१७ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्ला विषयमा गम्भिर समिक्षा भएको र सचिवालयको अर्काे बैठक यही बैशाख २० गते बस्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने,”सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटीको बैठकको मागको बारेमा र योसँग विविध पक्षका बारेमा गम्भिर बहस भयो । छलफल जारी छ । यस बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रियाहरुको गृहकार्यपनि अघि बढाउँदै २० गते सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्कत्तासँग मेल खाने, एकतावद्ध ढंगले अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ। आवश्यक प्रस्ताव तयार गर्दै छ । २० गतेको बैठकले स्थायी कमिटीको निर्णय गर्नेछ ।”

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी आजको बैठक सकिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर