१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद हल गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट उच्च स्रोतले जनाएको छ ।
पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् । तर, प्रधानमन्त्री ओलीले बैठक नराख्नेगरि आलटाल गरिरहेका छन् ।
यता प्रधानमन्त्री ओली भने संसदको अंक गणितमा जुटेका छन् । पार्टी कमिटीको सचिवालय र स्थायी समितिमा बहुमत गुमाएका ओली असन्तुष्ट पक्षको माग अनुसार अध्यक्ष र प्रधानमन्त्री कुनैपनि पद नछाड्ने बरु संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्ने रणनीतिमा लागेका हुन् ।
त्यसका लागि उनले खासगरी पूर्वमाओवादी धारका सांसदहरुलाई आफ्नो पक्षमा पार्ने प्रयास थालेका छन् । नेकपाका कुल १ सय ७४ जना सांसद छन् । त्यसमा पूर्वएमालेतर्फका १२१ र पूर्वमाओवादीतर्फका ५३ जना छन् ।
१२१ मध्ये ओली समूहका मात्रै ७८ जना छन् । बाँकी ४३ जना माधव नेपाल, वामदेव गौतम र झलनाथ खनाल समूहका छन् । संसदीय दलमा बहुमत कायमै गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छन् ।
यस्तो अवस्थामा पूर्वमाओवादी समूहका केही सांसद आफ्नो पक्षमा पार्न सके आफू आरामले बहुमत कायमै राखेर प्रधानमन्त्रीबाट हट्न नपर्नेगरी योजना बनाइरहेका छन्, ओली । गौतम समूहका केही सांसदले पनि साथ दिने ओलीको बुझाइ छ । त्यसका उनले बालुवाटारमा केही सांसदहरुलाई बोलाएर आफूलाई साथ दिन आग्रह नै गरिसकेका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू निकटका उपत्यका बाहिर रहेका केही सांसदलाई काठमाडौं बोलाएका छन् । हाल ओली निकटका सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा तथा खगराज अधिकारी काठमाडौ बाहिर छन् ।