जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यलयमा अनेरास्ववियू, युवासंघ र जसपा

जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यलयमा अनेरास्ववियू, युवासंघ र जसपा

१६ वैशाख, काठमाडौँ । सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरु नवगठित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका छन् । यसअघि उनीहरु डा. भट्टराई लगायतका नेताविरुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए ।

डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए । तर, महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दै उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा जान सुझाएको थियो ।

सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले साइबर अपराधमा जाहेरी दर्ता गर्न टेकु पुगेका थिए । सोहीअनुसार उनीहरु आज सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

यसको केही समय अघिमात्र पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरण प्रकरणमा उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।

यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले सांसद चौधरीको अपहरण गरेको जसपाको दावी छ ।

नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लगायत सरकारी वकिलको कार्यालय पुगेका थिए ।

उनीहरुसँग अपहरणमा परेका भनिएका डा. यादवपनि बबरमहलस्थित कार्यालय पुगेका थिए ।

सरकारी वकीलको कार्यालयले पनि हालसम्म उजुरी लिएको छैन भने अहिले त्यहाँका अधिकारी र नेताहरुबीच छलफल भइरहेको छ ।
पार्टी फुटाउने योजनासहित जनकपुरबाट यादवलाई अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएपनि डा. यादव उक्त होटलबाट फुत्किएको दावी गरिएको छ ।

जनता समाजवादी पार्टी, नेपालका सांसद डाक्टर सुरेन्द्र यादव यतिवेला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगेका छन् । प्रहरीले दर्ता गर्न नमानेपछि सांसद यादव जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुले लिएर पुगेका छन् । कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय पुगेका हुन् । अहिले अधिवक्ता डा. दिनेश त्रिपाठीले जाहेरी दर्ता गर्नको लागि कानूनी व्याख्या गरिरहेका छन् ।

यसअघि नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर