ओली र नेपालबीच करिव दुई घण्टा ‘वन टु वन’ भेटवार्ता

ओली र नेपालबीच करिव दुई घण्टा ‘वन टु वन’ भेटवार्ता

१५ वैशाख, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै दुई घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । तर दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका छन् । उहाँले आफूले चालेका कदमहरुको उद्देश्यबारे समेत नेता नेपाललाई स्पष्ट पार्न खोजनुभएको छ । तर, नेपालले पार्टी निर्णयलाई बेवास्ता गर्दै कदमहरु चाल्दा साख गिरेको भन्दै सचेत गराएको बुझिएको छ ।
दुवै नेताबीच भविष्यमा राजनीतिक लेनदेनको विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको विषय बाहिर आएको छ । त्यसमा नेपालले शर्तसमेत राखेको बुझिएको छ ।

ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष सतहमा देखिएको हो । सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन भनेका थिए ।

अहिले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकातिर छन् भने ओली अर्कातिर भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर