कमलका कृषकहरु सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै

कमलका कृषकहरु सूर्यमुखी खेतीतर्फ आकर्षित हुँदै

११ वैशाख, झापा । झापा कमल गाँउपालिकाका कृषकहरु सूर्यमुखी फूल खेतीतर्फ आकर्षित भएका छन् । तेलहनमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रोत्साहन दिन थालेपछि कृषकहरु यसको खेती तर्फ आकर्षित भएका हुन् ।

गत वर्षदेखि गाउँपालिकाले पालिकालाई तेलहनमा आत्मनिर्भर बनाउन बीउविजन अनुदानमा वितरण गर्न थालेको थियो । यसका साथै प्राविधिकरूपमा सहयोग गर्न थालेपछि कृषकहरुले सूर्यमुखी फूलको व्यावसायिक खेती गर्न थालेका हुन् । यसअघि तेलहनका लागि तोरीको खेती गरिँदै आए पनि पछिल्लो समय भने कृषकहरु सूर्यमुखी फूल खेतीतर्फ आकर्षित हुँदैआएका छन् ।

कमल गाउँपालिका वडा नं. ७ गेउरियाका अगुवा कृषक ओमनाथ तिम्सिनाले यस वर्ष पाँच कठ्ठा जमीनमा सूर्यमुखी फूलको खेती गर्नुभएको छ । कृषक तिम्सिनाले तेलहनका लागि तोरीभन्दा यस फूलको खेतीको उत्पादन बढ्ने र स्वास्थ्यका हिसाबले समेत यसको तेल उपयोगी भएकाले पनि परीक्षणका रूपमा खेती थालेको बताउनुभयो । यस खेतीबाट राम्रै उत्पादन दिए बर्सेनि यसरी नै व्यावसायिक खेती गर्ने उहाँको सोचाइ छ । गाउँपालिकाबाट एक केजी बीउ अनुदान पाएर खेती गर्नुभएका उहाँ फूलखेतीले मनग्यै उत्पादन दिने अनुमान गर्नुहुन्छ ।

इन्टरनेटको सहायताबाट खेती थाल्नुभएका उहाँले बिरुवाको हेरचाहदेखि बाली काट्नेसम्मको कृषि प्राविधिक ज्ञान सिकेको बताउनुभयो । नजानेको कुरा इन्टरनेटबाट खोजेर यसको प्राविधिक ज्ञान लिँदै आएको उहाँको अनुभव छ ।

गाउँपालिकाले यसवर्ष सात वटै वडाका कृषक समूहलाई सूर्यमुखीको बीउ अनुदानका रूपमा वितरण गरेको थियो । गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलका अनुसार तेलहनमा आत्मनिर्भर गराउन गाउँपालिकाले गत वर्षदेखि प्रोत्साहनस्वरूप निःशुल्क बीउ वितरण गर्नुका साथै प्राविधिकसमेत उपलब्ध गराएको छ ।

गाउँपालिकाले यसवर्ष ६० केजी बीउ कृषि समूहलाई अनुदान दिएको थियो । कृषि समूहमार्फत बीउ पाएकामध्ये वडा नम्बर १, ५, ६, र ७ का कृषकले लगाएको सूर्यमुखी खेती फस्टाउँदै गएको उहाँ बताउनुहुन्छ । गाउँपालिकाभित्र करिब ५० भन्दा बढी अगुवा कृषकले यसवर्ष सूर्यमुखी फूलको खेती गरेको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर