भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह

भ्रमको पछाडि नलाग्न नेकपा इलामको आग्रह

१० बैशाख, इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामले पार्टी नेतृत्व र निर्णयका विरुद्धमा फैलाइने भ्रमको पछाडि नलाग्न सिंगो कार्यकर्ता तथा मातहतका भातृ संगठनहरुलाई आग्रह गरेको छ ।

नेकपाको ७१औं स्थापना दिवस तथा लेनीन जयन्तीको अवसरमा शुभकामना सन्देश दिन जिल्ला कमिटी अध्यक्ष एवं १ नं. प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरद्वारा जारी प्रेस वक्तव्यमा पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बेलामा अनर्गल प्रचारको पछाडि नलाग्न भनिएको छ । “सिंगो मुलुक कोरोना भाइरसको विरुद्धमा जुधिरहेको वर्तमान समयमा हाम्रो पार्टी र सरकारको विरुद्धको अनर्गल प्रचारबाजीमा मात्रै आफ्नो भविष्य देख्नेहरु सक्रिय भइरहेका छन् ।” वक्तव्यमा भनिएको छ, “यसैलाई मलजल पुग्नेगरी पार्टीको नेतृत्व र निर्णयका सन्दर्भमा सामाजिक संजालहरुमा कुनै किसिमको अनर्गल टिका टिप्पणी, प्रतिक्रिया नजनाउन तथा पार्टीको सुदृढीकरण र एकताको विपक्षमा भ्रम फिजाउनेहरुको पछि नलाग्न पार्टी जिल्ला कमिटी र यस मातहतका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुक, शुभचिन्तकहरुमा पार्टी जिल्ला कमिटीको तर्फबाट अपिल गर्दछौं ।”

प्रेस वक्तव्यमा सिंगो पार्टी एवं पार्टी एकताको मर्म र भावनामा आँच आउने कुनै काम पार्टीका जो कोही जिम्मेवार नेता, कार्यकर्ताहरुबाट हुन नहुने कुरो उल्लेख गरिएको छ । समग्र विश्वको कम्युनिष्ट आन्दोलनलाई नै नयाँ र मौलिक सन्देश प्रदान गर्नेगरी नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

निरन्तरको संघर्षको बलमा संघीय गणतन्त्रात्मक शासन व्यवस्था, समावेशी लोकतन्त्र, समाजवादउन्मुख संविधान, सामाजिक न्याय लगायतका महान उपलब्धीहरुको रक्षा गर्दै समाजवाद हुँदै साम्यवादको यात्रामा अघि बढ्नु ऐतिहासिक कार्यभार भएको भन्दै वक्तव्यमा भनिएको छ, “नेपाल सरकारले अगाडि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को महाअभियान मार्फत हामी हाम्रो ऐतिहासिक कार्यभारतर्फ निरन्तर अग्रसर छौं ।”

यसका साथै प्रेस वक्तव्यमा नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरिसकेको र चौथो महामारीको रुप ग्रहण नगरोस् भन्नेका लागि यसको रोकथाम, नियन्त्रण र उपचारको लागि तीन वटै सरकारले गरेको निर्णय र निर्देशनको पालना गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर