६ बैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएपछि किसान चिन्तित बनेका छन् । केही सातायता फैलिएको फौजी किराको प्रकोपले नगरको वडा नं १ दिक्तेलस्थित नोभे र वडा नं ४ खाल्लेको बाँसबोटे र बाह्रबिसेलगायतका क्षेत्रमा धेरै असर पुर्याको छ ।
बाँसबोटे आसपासका ७० किसान र बाह्रबिसे असपासका २० किसानले खेतमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको वडा नं. ४ का वडाध्यक्ष डिल्लीकुमार राईले बताउनुभयो ।
यस्तै नोभेको करिब २ सय ५० रोपनीभन्दा बढी क्षेत्रमा लगाइएको मकैबालीसमेत फौजी किराले नष्ट गरेको किसानहरुले बताएका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसानको यकिन तथ्याङ्क आउन बाँकी रहेको जिल्लाका कृषि प्रसार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयो ।
गोड्ने बेला भएको मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि किसान अन्योलमा परेका छन् । कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईका अनुसार प्रभावित क्षेत्रको निरीक्षण गर्न तीन जनाको प्राविधिक टोली प्रभावित क्षेत्र तर्फ परिचालन गरिएको छ ।
ढाडमा पहेँलो तथा सेतो धर्सा देखिने धुस्रे किराले मकैको पातसँगै डाँठसमेत खाएर ठुट्टा बनाएको किसानले बताएका छन् । रातको समयमा सक्रिय हुने फौजी किराले आसपासको रुखविरुवासमेत सखाप पारेको किसानको भनाइ छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा गत वर्ष पनि फौजी किराको प्रकोप फैलिएको थियो ।
प्रकोपबाट गत बर्ष पनि जिल्लाकै सबैभन्दा बढी प्रभावित उक्त नगरपालिकाले राहत अनुदानअन्तर्गत १ करोड ४० लाख बजेट विनियोजन गरेर खाद्यान्न वितरण गरिरहेको छ । फौजी किराको प्रकोप तथा लामो समयको खडेरीका कारण अन्नबालीको बीउ समेत राख्न नपाएका स्थानीय बासिन्दालाई नगरपालिकाले निःशुल्करूपमा मकैको बीउ पनि वितरण शुरु गरेको छ ।