५ बैशाख, झापा । कोरोना भाइरसका (कोभिड १९) कारण पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वधममा पहिलो पटक ताल्चा लागेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमण जोखिमका कारण ५४ वर्षपछि पहिलो पटक धामको गेट मै ताल्चा लागेको हो । अर्जुनधारा जलेश्वरम सञ्चालक समितिका अध्यक्ष नविन गट्टानका अनुसार धामको स्थापनापछि पहिलो पटक गेटमै ताल्चा लगाउनुपर्ने अवस्था आएको हो । धाममा नियमित रुपमा हुने नित्य कर्म भने जारी राखेरको उहाँले बताउनुभयो ।
झापाको अर्जुनधारा नगरपालिकामा पर्ने यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको संख्या दैनिक जसो हजार भन्दा माथी रहन्छ । विशेषगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्तिआदि पर्वमा यहाँ अत्यन्त घुइँचो हुन्छ ।
सातकुने उक्त पोखरीको दक्षिण तर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् । जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन् । वि.स. २०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको अध्यक्ष गट्टानीले बताउनुभयो । यहाँ शिव, गणेश, नाग, हनुमान र सरस्वती आदि देवी देवताका मूर्तिहरूका अतिरिक्त विवाह, कर्मकाण्ड, यज्ञकक्ष, क्रियापुत्री कक्ष, धर्मिक कार्यक्रम वाचन तथा श्रोता कक्ष आदिको स्थापना गरिएको बताइएको छ ।