४ बैशाख, मोरङ । प्रदेश नं. १ सरकारले प्रदेश स्तरीय योजना, बजेट तथा कार्यक्रम तर्जुमा सम्वन्धी दिग्दर्शन सार्वजनिक गरेको छ । आर्थिक, मामिला तथा योजना मन्त्रालयले तयार पारेको दिग्दर्शन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गर्नुभएको हो ।
योजना संकलन, छनौट तथा तर्जुमा गर्ने आधार र त्यसको विधिहरु उल्लेख गरिएको दिग्दर्शन समान र समानुपातिक विकासका लागि महत्वपूर्ण हुने विश्वास अर्थमन्त्रालयको छ । विगतमा योजना छनौट र बजेट विनियोजनका लागि निश्चित आधार नहुँदा सरकारको आलोचना हुने गरेकोमा दिग्दर्शनले त्यस्तो आलोचनालाई कम गर्न सहयोग हुने साथै बजेटमा अमुक नेताहरुको हस्तक्षेप कम हुने मुख्यमन्त्री राईले बताउनुभएको छ ।
कोरोना भाइरस (कोभिड १९) ले अर्थतन्त्रमा असर परेको भएपनि आगामी वर्षको योजना निर्माणमा पर्ने वास्तविक असरको एकिन गर्न कठिनाई भएको पनि मुख्यमन्त्री राईले बताउनुभयो । यस्तो कठिनाईलाई दिग्दर्शनले सहज बनाउने आफ्नो विश्वास रहेको उहाँले पनि जनाउनुभएको छ ।
यस्तैगरी प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदीय विकास क्षेत्र, पूर्वाधार विकास कार्यक्रममा विनियोजन भएको रकम अन्य काममा खर्च नगर्ने स्पष्ट पार्नुभएको छ । संसद विकास कोषमा विनियोजन भएको रकम कोभिड १९ रोकथामका लागि स्थापना गरेको कोषमा रकमान्तर गर्नुपर्ने भनाईप्रति आफू असहमत रहेको उहाँले स्पष्ट पार्नुभएको हो । उहाँले संसद विकास कोषको रकम सम्वन्धित काममै खर्च हुने पनि विश्वास व्यक्त गर्नुभएको छ ।
अर्को प्रसङ्गमा बोल्दै मन्त्री आङ्बोले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि प्रदेश सरकारलाई बजेटको समस्या अहिले नै नपर्ने भन्दै नआत्तिन पनि आग्रह गर्नुभएको छ ।
साथै प्रदेश नं. १ सरकारले विभिन्न १० वटा शीर्षकमा रहेको ५ अर्ब बजेट खर्च गर्न रोक लगाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोका अनुसार भ्रमण, अध्ययन भ्रमण, अनुगमन, सेवा परामर्श, कम्प्यूटर, सवारीसाधन र फर्निचरलगायतका शिर्षकमा छुट्याएको बजेट खर्च गर्न रोक लगाएको हो ।
उहाँका अनुसार चालू आ.व. मा ती शिर्षकमा करिब ५ अर्ब बजेट रहेकोमा केही मात्र खर्च भएको छ । अब खर्च हुन बाकी रहेको रकम खर्च नगर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभएको छ ।