काठमाण्डाै, ३० चैत्र । विश्वभर कोभिड १९ (कोरोना भाइरस) रोगका कारण मृत्यु हुनेको संख्या १ लाख १३ हजार १ सय ९४ पुगेको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभरका १८ लाख ३५ हजार ४ सय ९६ मानिस संक्रमित भएको पछिल्लो तथ्यांक छ ।

त्यस्तै चार लाख १६ हजार एक सय २७ जना भने कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । उच्च कोरोना संक्रमण र मृत्यु हुने शीर्ष पाँच राष्ट्रहरुमा अमेरिका, स्पेन, इटली, फ्रान्स र जर्मनी रहेका छन् ।
यतिबेला अमेरिकामा कोरोना संक्रमण र मृत्यु दुवै उच्च रहेको छ । पछिल्लो पटक प्राप्त जानकारी अनुसार पाच लाख ३७ हजार तीन सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेमा २१ हजार चार सय ३५ रहेका छन् ।

अमेरिकापछि स्पेनमा एक लाख ६६ हजार १९ जनामा कोरोना संक्रमण देखिएको छ भने १६ हजार नौ सय ७२ जनाको मृत्यु भएको छ । इटलीमा एक लाख ५६ हजार तीन सय ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्रान्समा संक्रमित संख्या एक लाख २९ हजार छ सय ५४ र मृत्युहुनेको संख्या १३ हजार आठ सय ३२ रहेको छ भने एक लाख २६ हजार छ सय ५६ जना संक्रमित जर्मनीमा दुई हजार नौ सय आठ जना मानिसको मृत्यु भएको छ ।
भारतमा बढ्दो संक्रमण
द्रुत गतिमा कोरोनाको संक्रमण र मृत्यु हुने राष्ट्रमा भारत पनि परेको छ । भारतमा हालसम्म नौ हजार एक सय ६६ मानिसमा कोरोना संक्रमण देखिएको छ भने तीन सय २५ जनाको मृत्यु भइसकेको छ ।
नेपालसँग खुला सीमा नाका रहेकाले भारतमा बढ्दो कोरोना संक्रमण र जोखिमले नेपालमा प्रत्यक्ष असर पार्नेछ । यसैबीच भारतमा जारी लकडाउन थप १५ दिनलाई लम्बिएको खबर छ । नेपालमा पनि लकडाउन समयावधि बढाउने तयारी भइरहेको खबर छ ।
आइतबार नेपालमा थप ३ जना कोरोना संक्रमित
भारतबाट नेपाल आएका तीन जना भारतीयलाई कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रतिको संख्या १२ पुगेको छ नेपालमा चार हजार चार सय २६ जनामा कोरोना संक्रमणको आशंका भइ परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको हो । १२ संक्रमित मध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी संक्रमितहरुको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक संक्रमित पाइएका तीन जना भारतीयको बारेमा भने आवश्यक उपचार र अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् । उनीहरुको पछिल्लो चार महिनाको ट्राभल्स हिस्ट्रीको खोजी कार्य सुरु गरिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७