२९ चैत, झापा । जग्गाको विषयमा सामान्य वादविवाद हुँदा झापामा एकै परिवारका तीन जना घाईते भएका छन् । खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खुकुरी प्रहारबाट झापा अर्जुनधारा नगरपालिका ५ का ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवी गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्जुनधारा नगरपालिका ५ बस्ने बस्ने सुभद्रा गेलालको परिवारसँग सोही ठाउँकै छिमेकी पुण्यप्रसाद खनालको जग्गाको विषयमा वादविवाद भएको थियो । वादविवादको क्रममा खनालले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए ।
अहिले घाइते तीनै जनाको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । यता खुकुरी प्रहार गर्ने खनाललाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।