७ चैत्र, विराटनगर । छिमेकी राष्ट्र चिनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन प्रदेश नं. १ प्रदेश सरकारले ५० बेडको आइसुलेनसहितको अस्पताल बनाउने निर्णय गरेको छ । कारोना भाइरसको संक्रमण देखिएका विरामीलाई राखेर स्वास्थ्य–उपचार गर्नकालागि सो अस्पतालको निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेशका मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज शुक्रबार बसेको बैठकले सो निर्णय गरेको बताईएको छ । आजको निर्णय अनुसार एक साता भित्रमा ५० बेडको अस्पताल निर्माण गरिकसकिने छ । न्युनतम दश बेडको भेन्टीलेटर सहित विराटनगरस्थित नेशनल ट्रेडिङ लिमिटेडको भवनमा ५० शैयाको अस्पताल बनाउन लागिएको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिनुभयो ।
आज शुक्रबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री घिमिरे, कोशी अस्पतालको मेसु चिकित्सक डा. संगीता मिश्रा, चिकित्सक डा. दिपक सिग्देलसहितको टोलीले खाली भवनको निरीक्षण गर्नुभएको थियो ।