१ चैत्र, इलाम । महावीर पुनले सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई दक्षिण कोरीमा रहेका इलामेली युवाहरुको संस्था इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।
रोजगारीका लागि दक्षिण कोरियामा रहेका इलामका युवाहरुले गठन गरेको संस्था इलामेली समाज दक्षिण कोरियाले आफ्ना सदस्यहरुबाट आर्थिक संकलन गरेर रु १ लाख १५ हजार रुपैयाँ केन्द्रलाई शुक्रबार हस्तानान्तरण गरेका हुन् ।
राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई उल्लेखित आर्थिक सहयोग हस्तानान्तरण गरेको समाजका अध्यक्ष केदार निरौलाले जानकारी दिनुभयो । समाजका उपाध्यक्ष लिला खतिडाका अनुसार आर्थिक सहयोग रकम ग्रहण गर्दै पुनले दूरगामी लक्ष्यसहित आविष्कार केन्द्र निर्माण गरिएको भन्दै यसलाई व्यवस्थित गर्दै लैजान नेपाली युवाले गरेको सहयोग अतुलनीय रहेको भन्दै खुसी ब्यक्त गर्नुभएको बताउनुभयो ।
अहिलेसम्म ९ करोड बराबरको आर्थिक सहयोग संकलन भएको भन्दै यसलाई व्यवस्थित बनाउँदै लैजाने पुनले बताउनुभयो ।