१३ फाल्गुन । मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको ‘जीवन बचाउ उपचार सेवा गृह एवं पुर्नस्थापना केन्द्र भित्र एक युवाको शंकास्पद मृत्यु भएको छ । गृहमा उपचारका लागि भनेर पुस १८ गतेदेखि राखिएको उर्लाबारी–२ का १९ वर्षीय विशाल श्रेष्ठको शव शौचालयको भेन्टिलेसनमा झुन्डिएको अवस्थामा गत आइतबार साँझ भेटिएपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टी–सर्ट (भेष्ट)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको थियो । साँझ खोजी गर्ने क्रममा शौचालयमा झुन्डिएको अवस्थामा शव भेटिएको जानकारी गृह सञ्चालकले आफन्त, परिवारका सदस्य र प्रहरीलाई गराएका छन् ।
आफन्त र परिवारका सदस्यले भने आत्महत्या नभइकन हत्या गरेर झुण्ड्याइएको र मृत्यु अस्वभाविक रहेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् । सुधार गृहमा उपचाररत बिरामी युवाको शव झुन्डिएको अवस्थामा भेटिनु निक्कै शंकास्पद र गम्भीर विषय हो, मृतकका मामा छत्रबहादुर प्रधान भन्नुभयो । घटना रहस्यमय रहेकाले छानबिन गरेर सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुनुपर्ने माग राख्दै आफन्तले शव जिम्मा लिएको छैन ।
लागूऔषध तथा नशाजन्य वस्तुको दुर्व्यसन र कुलतमा फसेकालाई सुधार गर्दै समाजमा पुर्नस्थापना गर्न सहयोग र्पुयाउने जिम्मेवारी सुधार गृहको हो । तर दुर्व्यसनी नभएका विशाललाई गैर कानुनी ढंगले राखिएको खुलेको छ । श्रीमती सम्झना लिम्बूकाअनुसार विशाललाई मानसिक समस्या देखिएको थियो । तर सुधार गृहका सञ्चालक आएर चार महिना (१२० दिन) भित्रमा उपचार गराएर पूर्ण रुपमा स्वस्थ्य बनाइदिने भनेपछि विश्वासमा परी जिम्मा लगाएर पठाइएको उनको भनाइ छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७