२५ माघ, काठमाडौं । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति विकासको बाधक रहेको भन्दै मन्त्री पुनले यस सरकारको पालामा त्यस्तो प्रवृर्ती सह्य नहुने बताउनुभएको हो ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन अनन्तले आयोजना गर्नुभएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानून विज्ञ बाबुराम दाहालले मन्त्रालयको समस्याग्रस्त ठेक्काको संख्या पछिल्लो समय उल्लेख्य मात्रामा घटेको बताउनुभएको थियो ।
सिंचाइ विभागअन्तर्गत अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तसम्म २ सय ३५ वटा ठेक्का समस्याग्रस्त रहेकामा उक्त संख्या घटेर यो वर्ष १ सय ३० मा झरेको बताईएको छ । त्यसमध्ये पनि ८० प्रतिशतमा काम भइरहेको छ । यस्तै विद्युत प्राधिकरण अन्तर्गत अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९१ वटा ठेक्का समस्याग्रस्त रहेकामा त्यस्ता ठेक्काको संख्या घटेर हाल ३९ वटामा झरेको छ । त्यसमध्ये पनि अधिकांशको म्याद थप भएर काम जारी रहेको दाहालले बताउनुभएको थियो ।