१९ असार, झापा । वर्षाका कारण प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा जिल्लाको जनजिवन प्रभावित बनेको छ । कोशी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दै गएको संवन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् । नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
जलतथा मौसम पूर्वानुमान महाशाखाले दक्षिणी तथा होचो भाग डुबानमा पर्न सक्ने भन्दै सचेत बन्न आग्रह गरेको छ । झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक वर्षा भइरहेकाले ती जिल्लाका नदी तथा खोलामा जुनसुकै बेला भीषण बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो ।
यस्तै निरन्तरको बर्षा पछि झापाका खोला तथा नदीमा पानीको ह्वात्तै बहाब बढेकोछ । जिल्लाको सबै क्षेत्र जलमग्न भएपछि मौषम विभागले सतर्क रहन आव्हान गरेको छ ।
झापाको कनकाई, मेची, बिरिङ, टाङटिङ, रतुवा, माई, कमल, किस्ने, बनियानी लगायत दर्जनौं खोला तथा नदीमा पानीको बहाब निरन्तर बढेपछी जल तथा मौषम विभागले सतर्क रहन भनेको हो । जिल्लामा जोखिम बढेको छ ।
यसैबीच झापाको कनकाई नदीमा पानीको बहाब निरन्तर बढ्ने क्रममा रहेकाले जोखिम हुन सक्ने भन्दै आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।
आज बिहान ७ बजे कनकाई नदीमा पानीको बहाब २.५७ मिलिमिटर रहेको छ । पहाडी क्षेत्रमा पानी पर्ने क्रम जारी रहेकाले बहाब बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौषम विभागले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
कन्काई नदीमा पानीको बहाब ४.३ मिलिमिटर पुग्यो भने खतराको तहमा पुग्छ । यस्तो अवस्था भए दक्षिणी क्षेत्रका कनकाइ आसपासका गाउँमा पानी पस्ने र बस्ती डुवान हुने जिल्ला रेडक्रम सोसाईटी झापाले जनाएको छ ।