१४ जेष्ठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा छिट्टै अक्सिजन प्लान्ट जडान हुने र यसका लागि आवश्यक प्रवन्ध मिलाईएको बताउनुभएको छ । आज भर्चुअल माध्यमबाट दमक क्याम्पसको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले जनताको स्वास्थ्य सुरक्षमा सरकार कटिबद्ध रहेको जनाउदै दमकमा पनि छिट्टै अक्सिजन प्लान्टको ब्यवस्थापन हुने बताउनुभयो ।
उहाँले सरकारी दमक अस्पतालको सुविधा सम्पन्न भवन बनिरहेको भन्दै आवश्यक उपकरणहरुको पनि अभाव हुन नदिने जनाउनुभएको छ । देशभर अक्सिजनको ब्यवस्था, भेन्टिलेटरको ब्यवस्थापन लगायतका कार्यले गर्दा पछिल्लो समयमा कोरोना संक्रमणबाट हुने मृत्युदर घट्दै गएको उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले सरकार कोरोनाबाट जनतालाई बचाउन अनवरत रुपमा लागेको बताउनुभएको छ । कोरोना विरुद्ध लड्न हरेक व्यक्ति सिपाँही भएकोले यसलाई परास्त गर्न सबैको उस्तै दायित्व हुने यहाँले बताउनुभयो ।