२४ चैत्र, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले नेपालको निजामती कर्मचारी प्रशासन दोषपूर्ण रहेको बताउनुभएको छ ।
पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री समेत रहनुभएका मन्त्री त्रिपाठीले प्रशाासन समूहका निजामती कर्मचारी आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको दाबी गर्नुभयो ।
‘म बडा स्पष्टताका साथ अनुभवका आधारमा भन्दैछु, हाम्रो निजामती कर्मचारी प्रणाली दोषपूर्ण छ । त्यसको बनावटै दोषपूर्ण छ’, आज संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले भन्नुभयो, ‘यसमा प्रशासन समूहका व्यक्ति आवश्यकता भन्दा ७० प्रतिशत बढी छन् । र प्रावधिकहरुको संख्या अत्यन्त कम छ । चाहे त्यो डाक्टर होस्, चिकित्सा र इन्जिनियर होस्, चाहे वन होस्, चाहे कृषि होस् ।’
पञ्चायतकालदेखिको कर्मचारी प्रणाली अहिलेसम्म कायम रहेकाले समस्या रहेको उहाँको भनाइ छ । नेपालमा विकास बजेट खर्च नहुनुको मुख्य कारण प्राविधिक कर्मचारी कम रहनु रहेको पनि मन्त्री त्रिपाठीले बताउनुभयो ।