
चैत्र २३, इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले कार्यसम्पादनको आधारमा तीन जना कर्मचारी र प्रवासबाट फर्किएका आठ जना व्यवसायीलाई सम्मान गरेको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मंसिरबाट इलाम जिल्लामा संञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्षसम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा उत्कृष्ट तीन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायीलाई सम्मान गरेको हो ।
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको २४ कर्मचारी मध्ये तीन विधाका कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सुर्याेदय नगरपालिकाका फोकल पर्सन एवं मनोसामाजिक परामर्शकर्ता जिज्ञासा गोले तामाङ्ग, इलाम नगरपालिकाका वित्तिय साक्षरता सहजकर्ता निलिमा भट्टराई र सुर्याेदय नगरपालिका–१४ का रिटर्नी स्वयम–सेवक अर्जुन अधिकारी रहेका छन् ।
त्यस्तै प्रवासबाट फर्किएर स्वदेशमै स्वरोजगार भई व्यवसाय संञ्चालन गरिरहेका सामाजिक क्षेत्रमा समेत क्रियाशिल इलाम नगरपालिका अनुग्रह कृषि फर्मका बुद्धिमान राई, पुष्पस्नेह ललिपप उद्योगका राम कुमार लिम्बु, देउमाई नगरपालिका गजुरमुखी दर्शन डेरी उद्योगका अशेष कुमार बुढाथोकि, गजुरमुखी टेलरिङका पवित्रा नेपाली, सुर्याेदय नगरपालिका समाल्बुङ्ग अर्गानिक तरकारी खेतीका संगम गिरी, पशुपालन तथा तरकारी उत्पादन व्यवसायी झुमा राई, माङ्सेबुङ गाँउपालिका अनुग्रह गाई फार्मका राम कुमार राई, माङ्सेबुङ खाडि तथा ढाका उद्योगका तिलरुपा सवेहाङ्गलाई प्रेरणादायी व्यक्तित्वका रुपमा सम्बन्धित नगरपालिकाहरुको सिफारिसमा खदा तथा सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा इलाम नगरपालिकाका प्रशासन अधिकृत राम कुमार शाह, सामी हेल्भटासका कार्यक्रम अधिकृत राम कुमारलाल कर्ण, सुरक्षित आप्रवासन परियोजनाका (सामी) इलामका कार्यक्रम संयोजक इश्वरी तामाङ्ग लगायतले सम्मानित व्यक्तित्वहरुको उज्वल व्यवसायिक भविष्यको शुभकामना दिँदै मन्तव्य राखेका थिए ।
सम्मानित हुने संगम गिरि, आशिष बुढाथोकि, बुद्धिमान राई, पवित्रा नेपाली, झुमा राई लगायतले आयोजक प्रति धन्यवाद व्यक्त गरे । इच्छाशक्ति भए स्वदेशमा नै स्वनिर्भर भई व्यवसाय सञ्चलन गर्न सकिने सम्भावना रहेको बताउदैँ उनीहरुले नेपालमा केही पनि नगरी बस्ने युवाहरुलाई समयको महत्व र समय, श्रम घण्टाको मूल्य बुझ्न पनि एक पटक विदेश पुग्नु पर्ने धारणा राखेका थिए ।
परियोजनाको कार्ययोजनाबारे प्रहरीसंग अभिमुखिकरणः

सुरक्षित आप्रवासन परियोजना (सामी) इलामको काम, कर्तव्य, उपलब्धि र आगामि कार्ययोजनामा प्रहरीसंगको समन्वय बारे जानकारी गराउने उदेश्यले प्रहरी संगको अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी उपरिक्षक नविन राज राई, प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, परियोजना सामी हेल्भटासका कार्यक्रम अधिकृत राम कुमार लाल कर्ण, कार्यक्रम संयोजक इश्वरी तामाङ, मनोसामाजिक परामर्श कर्ता कल्पना गजमेरले सहजीकरण गर्नु भएको थियो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७