३ चैत्र, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । उहाँले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गर्नुभएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उहाँको भनाइ छ ।
संयोजक गौतमले माधव नेपाल समुहले छुट्टै गतिविधिहरु संञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फाल्गुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताउनुभयो ।
नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।