२० फाल्गुन, काठमाण्डौँ । गोङ्गबु हत्याकाण्डकी मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो ।
गत श्रावण २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।