१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनुहुदैछ । गृह जिल्लाका दुई कार्यक्रम र मोरङको एक कार्यक्रममा सहभागी भई प्रधानमन्त्री ओली काठमाडौं फर्किने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष ओली काठमाडौंबाट यति एयरलाइन्सको दोस्रो फ्लाइटबाट भद्रपुर आउनुहुने छ । गृह जिल्लामा पहिलो कार्यक्रम विर्तामोड नगरपालिकाले ७ मा निर्माण गरेको प्रदेश गौरभ भिलेजको समुद्घाटन गर्नुहुने छ । प्रदेश गौरभ भिलेज विर्तामोड नगरपालिकाले निर्माण गरेको छ । ह्याविट्याट र सहरा नेपाल नेपालको सहयोगमा ३७ वटा अवास निर्माण गरिएको छ ।
प्रत्येक घर निर्माणका लागि ४ लाख खर्च भएको नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सो आवास निर्माणका लागि धनजुजु र कमला श्रेष्ठले १ विगाह ३ कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको दोस्रो कार्यक्रम पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन रहेको छ । अस्पतालको उद्घाटन पछि अवलोकन गर्नुहुने छ । समुद्घाटन कार्यक्रममा हजारौ आम नागरिकलाई सहभागिताका लागि सार्वजनिक अपिल समेत गरिएको थियो । सो भेलालाई समेत प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।
अन्तिम कार्यक्रम उर्लाबारी नगरपालिका–९ स्थित नदी किनारमा रहेको सन्थाल बस्ती निर्माणको शिलान्यास रहेको छ । झापाका दुई कार्यक्रम पश्चात प्रधानमन्त्री ओली उर्लावारी पुग्नुहुनेछ ।
सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत मोरङको उर्लाबारीमा सन्थाल बस्ती निर्माण योजना अगाडि बढाएको छ । सो वस्तीको शिलान्यास पछि ओली विराटनगर हुँदै आजै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली अब २१ गतेको कार्यक्रममा सहभागी हुन झापा आउने कार्यक्रम रहेको छ ।