१३ फाल्गुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताउनुभएको छ । लोकतन्त्र रहेसम्म अब कसैले पनि पाँच बर्षसम्म संसद भंग गर्न नसक्ने उहाँको भनाइ छ ।
महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वाेच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई खुसी दिएको बताउनुभयो ।
संसद विघटन भएपछि धर्मवादी, क्षेत्रवादी, तानाशाहीवादी जुर्मुराएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘देशमा अब के हुने भन्ने अन्यौलता छाएको थियो । यी सबै अन्यौलता अदालतले हटाएको छ । अदालतको सम्मान गर्दै नमन गर्न चाहन्छु ।’
न्यायालय र निर्वाचन आयोग सक्षम र निष्पक्ष नभएको देशमा लोकतान्त्रिक व्यवस्था नचल्ने भन्दै डा. यादवले अमेरिकामा ट्रम्प तानाशाही हुँदा अदालत र निर्वाचन आयोगले बचाएको उल्लेख गर्नुभयो ।
यस्तै आफूले संविधान जारी गर्दा देशका सबै नागरिक खुसी होउन् भन्ने चाहे पनि सम्भव नभएको डा. यादवले स्मरण गर्नुभयो । ‘मधेशवादी दल छाडेर एमाले, कांग्रेस, माओवादी सबै गरी ९० प्रतिशतको सहभागिता थियो,’ उहाँले भन्नुभयो, ‘त्यसैलाई शिरोधार्य गर्दै अगाडि बढ्दै संविधान जारी गरियो ।’
यो संविधान अनुसार भएको निर्वाचनपछि मधेशको दलले भाग लिएपछि आफूले ठीकै गरेको अनुभूति भएको उहाँले बताउनुभयो ।