४ फाल्गुन, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको छ ।
सभापति देउवाको कार्यकाल सकिन लागेको, महाधिवेशन मिति फाल्गुन ७ गतेदेखि भने पनि उक्त समयमा महाधिवेशन नहुने निश्चित भइसकेको अवस्थामा आवश्यक रणनीति लिन र सभापति देउवालाई दवाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला डाकेको थियो ।
सभापति देउवाले बुधबारकै लागि केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको हो । पौडेल पक्ष निकट काभ्रे जिल्ला कांग्रेस सभापति मधु आचार्यले भोलिका लागि तय भएको जिल्ला सभापतिहरूको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
सभापति देउवाले कार्यकाल थप गर्न विधानको साहरा लिनुपर्छ । कांग्रेसले चार वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि कोरोनाका कारण महाधिवेशन अनिश्चित बनेको छ । देउवाको कार्यकाल फाल्गुन १९ मा सकिँदैछ ।
संविधानअनुसार अब देउवाले छ महिना कार्यकाल थप गर्न पाउँछन् । केन्द्रीय समिति बैठकबाट कार्यकाल थप गर्ने र १४ औं महाधिवेशनको मिति तय गर्ने देउवाको तयारी छ ।