२६ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र एक्लो बन्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमको कांग्रेसले विरोध त गर्याे तर सडकमा सशक्त रुपमा आफ्नो उपस्थिति देखाउन सकेन ।
खासगरी सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सहमति भएर नै प्रतिनिधिसभा विघटन भएको राजनीतिक वृत्तमा चर्चा छ । संवैधानिक निकायमा नियुक्तीहरु देखि लिएर विभिन्न विषयमा ओलीसँग सम्झौता र भागबण्डा गरेको देउवामाथि पार्टीभित्रैबाट आरोप छ ।
संसद विघटनमा नेकपाको दाहाल–नेपाल समूह आन्दोलनरत छ तर, सभापति देउवाले भने संसद विघटनविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतलाई पर्खनुको विकल्प नभएको भन्दै आन्दोलन चर्काउन नहुने अडान लिनुएर बस्नुभएको छ ।
कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह भने आन्दोलनमा जानुको विकल्प नभएको भन्दै आफ्नो उपस्थिति प्रस्तुत गरिहनुभएको छ ।
नेताहरु पौडेल, सिटौलामात्रै नभएर युवा नेता गगन थापा, प्रदीप पौडेल पनि ओलीको कदमविरुद्ध सडकमा उत्रिएका छन् । उहाँहरुले ओलीको कदम प्रतिगामी भन्दै देशव्यापी रुपमा कार्यकर्ता उतारिरहेका छन् ।
नागरिक समाजको स्तरबाट पनि देउवाको कदम प्रभावकारी नभएको निश्कर्ष निकालिएको छ । अहिले ओलीको कदमविरुद्ध नागरिक आन्दोलन नै सुरु भएको छ । उनीहरुले दैनिक विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।