२६ माघ, इलाम । नेकपा केन्द्रको विवाद चरम उत्कर्षमा पुगेसंगै त्यसको अशर प्रत्येक जिल्लामा पुगेको छ । यसको प्रभाव इलाम जिल्लामा पनि यस्तै देखिएकोे छ ।
विघटित प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर १ मा झलनाथ खनाल र क्षेत्र नम्बर २ मा सुभासचन्द्र नेम्बाङ विजयी सांसद हुन् । प्रदेश सांसद्हरुमध्ये जिल्ला अध्यक्ष समेत रहेका राम राना र काजीमान कागते सुभास अर्थात ओलीतिर तथा धिरेन्द्र शर्मा रमण र खिनु लङ्वा झलनाथतिर देखिन्छन् ।
जिल्ला समन्वय समितिमा निर्वाचित भएका सदस्य पूर्ण बस्नेत बाहेक प्रमुख गणेशप्रसाद बरालसहित सबै पदाधिकारी तथा सदस्यहरु ओली पक्षमा लागेका छन् ।
स्रोतका अनुसार इलाम नगर प्रमुख महेश बस्नेत, देऊमाईका प्रमुख सूर्य पोख्रेल र माईका प्रमुख दिपक थेवे ओली पक्षमा छन् । सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई भने झलनाथ तिर छन् ।
गाउँपालिका अध्यक्षहरु मध्ये चुलाचुलीका अध्यक्ष प्रदीपचन्द्र राई ओलीसँग छन् । सन्दकपुरका अध्यक्ष उदय राई र माईजोगमाईका अध्यक्ष जितबहादुर झलनाथतिर छन् । यता चार वटा नगरपालिकामा निर्वाचित उपप्रमुखहरु र पाँच गाउँपालिकामा निर्वाचित उपाध्यक्षहरु सबै जना ओलीतिर छन् ।
विगतमा एकता हुँदा १४७ जनाको जिल्ला कमिटी रहेकोमा साविक एमालेबाट ९५ जना र माओवादी केन्द्रबाट ५२ जनाको सहभागिता थियो । जसमा अध्यक्षसहित बहुमत संख्या ओली पक्षमा छन् भने झलनाथ समूह अल्पमतमा छ ।
जिल्ला कमिटीका साविक एमालेका ९५ जनामध्ये १६/१७ जना मात्रै र साविक माओवादी केन्द्रका ५२ जनामध्ये ४६/४७ जना मात्रै झलनाथतिर छन् भने बाँकी ओली पक्षमा लागेका छन् ।
लामो समय झलनाथसँगै रहेको जिल्ला अध्यक्ष तथा प्रदेश सरकारका राज्यमन्त्री रामब राना र प्रदेश सांसद् काजिमान कागतेले खनालको साथ छाडिसकेका छन् ।