२५ माघ, झापा । धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि दमकमा फुड फेष्टिबल गर्ने भएको छ । आगामी माघ २७ गते देखि फाल्गुन १ गते सम्म ५ दिन चिचिरी गेन्द्रो दिवसको रुपमा फुड फेष्टिबलको आयोजना गर्न लागेको हो ।
फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० वटा स्टल रहने छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्री तथा प्रदर्शन गरिने छ । फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले जानकारी दिनुभयो ।
चिचिरी धिमाल समुदायमा विशेष प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो । यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिनुभयो ।
धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले जनाउनुभयो । दमक नगरपालिकाको मुख्य प्रायोजन रहने फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।