संवैधानिक निकायका आयुक्तलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट

संवैधानिक निकायका आयुक्तलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट


२१ माघ, काठमाण्डौँ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको छ । आज पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो ।

‘२०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नु’ त्रिपाठीले रिटमा आदेश माग गर्नुभएको छ, ‘सो मितिको सिफारिस एवं निर्णयको आधारमा संवैधानिक आयोगमा नियुक्त, सपथ ग्रहण तथा पदभार ग्रहण गरी कुनै कार्य नगर्नु नगराउनु ।’

सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश नै संविधान विपरीत रहेको, परिषदका ६ मध्ये तीन जना बसेर निर्णय गर्न नमिल्ने र संसदीय सुनुवाइबिनै ती आयोगहरूमा नियुक्तिको परिकल्पना संविधानले नगरेको त्रिपाठीको भनाइ छ ।

यस्तै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिनुभएको छ । कार्यबाहक प्रमुख डा. गणेश राज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुभएको हो । आयुक्त भएपनि पछिल्लो समय कार्यबाहकको भूमिकामा रहेका जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उहाँले राजीनामा दिनुभएको हो ।

यता नेपाली काँग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिनुभयो । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर