१८ माघ, काठमाण्डौँ । संवैधानिक निकायमा सिफारिश नामहरु संसदीय सुनुवाईका लागि संसदमा दर्ता भएकोमा सभामुख अग्नि सापकोटाले फिर्ता पठाउनुभएको छ । उहाँले आज नेपाल सरकारका मुख्यसचिवलाई पत्र लेखी कागजात फिर्ता पठाउनुभएको हो ।
पत्रमा ‘संसदीय सुनुवाई सम्बन्धी प्राप्त सक्कलै कागजात फिर्ता पठाइएको’ विषय उल्लेख गरिएको छ । गत पौष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिश राष्ट्रपतिसमक्ष पठाएपछि उक्त दिन अपरान्ह २ः१५ बजे सरकारले सुनुवाईका लागि संसद सचिवालयमा दर्ता गराएको थियो । लगत्तै २ः२१ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको सूचना जारी गर्नुभएको थियो ।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक निकायमा नियुक्तिको सिफारिश संसदीय सुनुवाईमा पेश गरेको ४५ दिन पूरा हुनै लाग्दा सभामुखले जस्ताको तस्तै फिर्ता पठाउनुलाई अर्थपूर्ण मानिएको छ । सुनुवाई नभएमा संविधान अनुसार नियुक्ति सदर हुनेछ ।
यसअघि अध्यादेशद्वारा संवैधानिक परिषद्को बैठक र निर्णयसम्बन्धी ऐन संशोधन गरी ३० मंसिरमा बसेको परिषद् बैठकले अख्तियारसहित विभिन्न रिक्त पदमा नियुक्ति गरेको थियो ।