३ माघ, काठमाण्डौँ । नेपाल भारत पहिलो पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरीको प्रयास भएको छ । गत बुधबार बेलुकी भारतीय सुरक्षाकर्मीलाई छलेर चोरहरुले पाइपलाइनमा “तीन चोसे” गाँस्ने प्रयास गरेको नेपालतर्फ पाइपलाइन संञ्चालन र व्यवस्थापनको जिम्मा पाएको नेपाल आयल निगमको दुई नम्बर प्रादेशिक डिपो अमलेखगन्जले जनाएको छ ।
नेपाल भारत सीमा क्षेत्रबाट झण्डै एक सय किलोमिटर पर भारतीय भूमी सिवानमा तेल चोरीको प्रयास भएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले जानकारी दिनुभयो ।
पाइपलाइन फुटाउन खोजिएको ठाउँ नेपाल भारत सीमाबाट एक सय किलोमिटर पर र गोरखपुरतर्फको ट्राइजक्सन (तीन चोसे) भन्दा २० किलोमिटर वर नेपालतर्फ रहेको अमलेखगञ्ज डिपोले जनाएको छ ।
हरेक दिन पाइपलाइन सुरक्षामा भारतीय सुरक्षाकर्मीको पैदल गस्ती हुने भएपनि सुरक्षाकर्मीलाई छलेर रातिको समयमा पाइपलाइनबाट तेल चोरीको प्रयास भएको जानकारी भारतीय पक्षले डिपोलाई गराएको छ ।
नेपालतर्फको डिजेल भण्डारण ट्यांकी भरीएका कारण पाइपलाइन बन्द रहेकै बेला आक्रमणको प्रयास भएको अमलेखगञ्ज डिपोले जनाएको छ । बुधबारदेखि नै पाइपलाइन बन्द रहेको र सोही राती तीन चोसे गाँस्ने प्रयास भएको डिपो प्रमुख रेग्मीले बताउनुभयो ।
घटनालगत्तै पुगेको भारतीय आयल कर्पाेरेसनको उद्धार टोलीले पाइपलाइन टालेको र अहिले पाइपलाइन फेरि सञ्चलनमा आएको उहाँको भनाइ छ । पाइपलाइनको प्वाल टालेपछि अहिले प्रतिघण्टा दुई लाख ५० लिटरका दरले डिजेल आयात भइरहेको रेग्मीको भनाइ छ ।