२४ पौष, काठमाण्डौँ । उपत्यकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।
निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उहाँले भन्नुभयो–‘पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।’
पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छरछैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उहाँको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।
समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ ।
-रासस