१३ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ शुक्रबार जिल्ला समन्वय समितिमा सम्पन्न बैंठकबाट वडा संख्याको आधारमा वितरण गरिएको छ ।
कार्यक्रम अन्र्तगत सबैभन्दा ठूलो रकम सूर्याेदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकाललाई १० लाख, माइ नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिका ६० लाख, सन्दकपुर गाउँपालिकालाई ६७ लाख र माईजोगमाई गाउँपालिकालाई ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. १ मा जम्मा ३९ वडा रहेका छन् । वडा संख्याको आधारमा प्रत्येक स्थानीय तहहरुलाई रकम विनियोजन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।
यसरीनै संविधान सभाका अध्यक्ष तथा सांसद नेम्बाङको निर्वाचन क्षेत्रका इलाम नगरपालिकालाई एक करोड, देउमाई नगरपालिकालाई ९० लाख ५६ हजार, माई नगरपालिकालाई २८ लाख ५० हजार, माङसेवुङ गाउँपालिकालाई ५७ लाख १४ हजार, चुलाचुली गाउँपालिकालाई ५७ लाख १४ हजार र फाकफोकथुम गाउँपालिकालाई ६६ लाख ६६ हजार विनियोजन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. २ मा जम्मा ४२ वडा रहेका छन् । वडा संख्याको आधारमा प्रत्येक स्थानीय तहमा स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बजेट विनियोजन गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको सहजीकरणमा सम्पन्न कार्यक्रममा सांसद खनाल र नेम्बाङ भने भर्चुवल मार्फत बैंठकमा जोडिनुभएको थियो ।