२९ कार्तिक, इलाम । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन (अनन्त) आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुग्नुभएको छ ।
देशभरको विद्युत आपूर्तिको अवस्थाबारे निरीक्षण गर्न उहाँ विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो ।
हिन्दुहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्ने आफ्नो चासो रहेको मन्त्री पुनले बताउनुभयो ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल समेत गर्नुभएको छ ।
भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत् उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।