२८ कार्तिक, बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
जिल्लाको पाटन नगरपालिका–८ खोड्पेमा सानो घुम्तीबाट बस ६ सयमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृतक मध्ये सात जना पुरुष र दुई जना महिला रहेका छन् ।
एसएसपी मुकेशकुमार सिंहका अनुसार मृतकहरुमध्ये एक जना प्रहरी जवान रणबहादुर चन्दको सनाखत भएको छ । बैतडी घर भएका उनी दाङको हापुरे इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनको परिचयपत्रको आधारमा पहिचान खुलेको एसएसपी सिंहले बताउनुभयो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको एसएसपी सिंहले जानकारी दिनुभयो । उनीहरुलाई थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ ।