१८ कार्तिक, काठमाण्डौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुबीचका लागि तय गरिएको बैठक स्थगित भएको छ । पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो ।
केसीको निधनको शोकमा आज दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । महतका अनुसार केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने छ ।
पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि आज दिउसो १ बजे बस्ने गरि बैठक स्थगित भएको थियो ।
पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धित निर्णयहरू विधानविपरीत रहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असोज ११ गते ज्ञापनपत्र दर्ता गरेको थियो ।