चाडबाडको समयमा कोरोना सङ्क्रमण बढ्नसक्ने भएकाले सचेत रहन गृहमन्त्रालयको निर्देशन

चाडबाडको समयमा कोरोना सङ्क्रमण बढ्नसक्ने भएकाले सचेत रहन गृहमन्त्रालयको निर्देशन


४ कार्तिक, काठमाण्डौँ । गृहमन्त्रालयले चाडबाडको समयमा कोरोना सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

निकट रहेको बडादशैँ, दिपावली, छैठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने भएकाले सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

कोरोना महामारी सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । यस वर्षको चाड जो जहाँ छौँ त्यहीँ बसी मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न र गराउनसमेत अनुरोध गरिएको छ ।

चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी, कृत्रिम अभाव, कालोबजारीलगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन÷गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सुरक्षा निकायलाई मन्त्रालयले निर्देशन गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर