
२१ असोज, झापा । पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते (भोली) हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ ।
जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो ।
आज दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्त पत्रकार सम्मेलन नै गरेर युवा संगठनका नाउँमा कुनै गतिविधि नगर्न भनेको हो ।
झापा जिल्लामा युवा संगठनको समायोजन नभएको जिकिर गर्दै दुई संगठनले जारी गरेको प्रेस विग्यप्तिमा भनिएको छ–‘पार्टी मातहतका आधिकारिक युवा संगठनहरुको विधिवत समायोजन कार्य सम्पन्न नभएको अवस्थामा हाल जनता समाजवादी पार्टी निकट युवा संगठनको नाममा गलत र असांगठानिक गतिविधि भैरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
समाजवादी युवा संघ प्रदेश–१ समितिको नाममा आफूहरु विरुद्ध अराजनीतिक र असांगठानिक विज्ञप्तिवाजीमा सत्यता नरहेको समाजवादी युवा फोरम झापा अध्यक्ष खेम दाहाल र युवा शक्ति नेपाल झापाका उपाध्यक्ष प्रज्वल भण्डारीबाट जारी संयुक्त विग्यप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जनता समाजवादी पार्टी निकट युवा संगठनका गतिविधि गर्नु अघि पूर्व ससफो र नयाँ शक्ति निकट युवा संगठनहरुबीच विधिवत र समायोजन निर्देशिका बमोजिम संगठन समायोजन प्रकृया सम्पन्न गर्न समाजवादी युवा संघ प्रदेश समिति, केन्द्रीय समिति र पार्टी निकट समितिहरुलाई आह्वान गरिएको छ ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७