२१ असोज, झापा । झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको पाटीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ ।
प्रशासनिक कामकाज प्रभावित बनेसँगै गाउँपालिकामा कार्यरत कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । श्रावण, भाद्र र असोज (दसैँ पेस्की)सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई लिखित रूपमै ज्ञापनपत्र बुझाइसकेका छन् ।
तर पनि कर्मचारीहरूको माग सम्बोधन हुन सकेको छैन । माग सम्बोधन नभएपछि कर्मचारीले मङ्गलवारदेखि अनिश्चितकालीन सेवा ठप्प बनाउँदै आन्दोलित बनेका छन् । गाउँपालिकामा कार्यरत सबै कर्मचारीले तलब सुविधाको माग राख्दै सोमबार सामूहिक हस्ताक्षर गरेको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाललाई बुझाएका थिए ।
यता कर्मचारीले सेवा ठप्प बनाउँदा गाउँपालिकाको कामकाज थप प्रभावित बन्न पुगेको छ । गाउँपालिका भित्रको विवादले जनताको सेवामा अहरोत्र खटिने कर्मचारीहरूको तलब सुविधा रोक्दा समस्याले आन्दोलित बनेको लेखा अधिकृत चूडा बोहोराले जानकारी दिनुभयो । पटक पटक तलब सुविधाका लागि ध्यानाकर्षण गराए पनि माग सम्बोधन हुन नसकेपछि सेवा ठप्प पारेको उहाँले बताउनुभयो ।
यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले भने तलब सुविधा रोकिँदा कर्मचारीलाई समस्या परेको र कर्मचारीलाई दसैँ पेस्कीसहितको तलब चाँडै उपलब्ध गराउन आफू लागि परेको बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बिच गाउँ सभाबाटै दुरी बढेकोले प्रशासनिक कारोबार सञ्चालनमा अवरोध पुगेको उहाँले भन्नुभयो ।
हल्दिबारी गाउँपालिकामा राप्रपाबाट निर्वाचित अध्यक्ष छन् भने तत्कालिन एमाले हाल नेकपाबाट निर्वाचित उपाध्यक्ष छन् । कार्यपालिकामा उपाध्यक्षको बहुमत छ ।