संसद्को विशेष अधिवेशन माग गर्ने तयारीमा नेपाली कांग्रेस

संसद्को विशेष अधिवेशन माग गर्ने तयारीमा नेपाली कांग्रेस


१६ असोज, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संघिय संसद्को विशेष अधिवेशन माग गर्ने तयारी गरेको छ । यसमा काँग्रेसलाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि साथ दिने भएको छ ।

कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध छलफल गर्न संसदको विशेष अधिवेशन आवश्यक रहेको निष्कर्ष काँग्रेसले निकालेको हो । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार संस्थापन पक्षीय पदाधिकारीको छलफलले संसद्को विशेष अधिवेशनको आवश्यकता औंल्याएको हो ।

काँग्रेस सहमहामन्त्री डा.प्रकाशरण महतका अनुसार १९ गते बस्ने पार्टी केन्द्रीय कार्यसमितिको बैठकले संस्थागत निर्णय गरेपछि विशेष अधिवेशनका लागि संसदीय दलले आवश्यक प्रक्रिया अघि बढाउने छ । संसदमा रहेका अन्य विपक्षी दलसमेतको सहकार्यमा विशेष अधिवेशन बेलाउन पहल गर्ने महतको भनाइ छ ।

गत असार १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशन अन्त्य गराउनुभएको थियो । संसदको अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद बैठकले सिफारिस गर्नासाथ राष्ट्रपतिले पनि तत्कालै मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरी संसद सचिवालयलाई अधिवेशन अन्त्य भएको जानकारी गराउनुभएको थियो ।

लगत्तै असार २४ गते विपक्षी दल काँग्रेस र जसपाका शीर्ष नेताहरूबीच संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने विषयमा छलफल भएको थियो । तर काँग्रेस निर्णय गर्ने तहमा पुगेन ।

काँग्रेसले संसद् अधिवेशनको मागसँगै सडकमा विरोधका कार्यक्रम समेत गर्ने भएको छ । सामाजिक दूरी पालना गरेर सरकारका अकर्मण्यता र भ्रष्टाचारविरुद्ध सडकबाट समेत आवाज उठाउने काँग्रेसको तयारी रहेको महत सहमहामन्त्री बताउँनुहुन्छ ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरु सुरुदेखि नै विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने पक्षमा रहेको बताउनुभयो । ‘सरकारले हठात संसद अधिवेशन अन्त्य गरेर जनताको मुखमा बुझो हाल्ने काम गरेकाले संसदको विशेष अधिवेशन बोलाउनु पर्छ भन्ने हाम्रो माग थियो,’ उहाँले भन्नुभयो, ‘एक्लै माग गर्ने सक्ने क्षमता थिएन । अनि काँग्रेससँग छलफल हुँदा विशेष अधिवेशन माग गर्न सल्लाह दिएका थियौँ । बोलाउन माग गरौँ भनेका थियौँ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर