मन्त्रीपरिषदको पुर्नगठनमा दुई बर्षे मापदण्ड !

मन्त्रीपरिषदको पुर्नगठनमा दुई बर्षे मापदण्ड !


२८ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले असोज लाग्ने वित्तिकै मन्त्री हेरफेर गर्ने कुरोको चर्चा सुरु भएको छ । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर हटाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने गरी मापदण्ड बनाउने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग कुराकानी गर्नुभएको छ । यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ ।

दुई वर्ष मन्त्री भइसकेकालाई बिदा दिएर नयाँलाई मौका दिइनेछ । यसरी मापदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्तकुमार नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ ।

भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसक्नुभएको छ । उहाँलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ । भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।

अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र ती दुई मन्त्रीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ । पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् । दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहनुहुने छैन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छ । उहाँ पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उहाँलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।

लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली हुनुहुन्छ । पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुने सम्भावना बढेको छ ।

यस्तै बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उहाँलाई अर्थ मन्त्रालय नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ । बादललाई बिदा गरेर बामदेवलाई ल्याउन पनि दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्डको विषय उठेको समाचार रिपोर्टस् नेपालमा छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर