२० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्रको असन्तुष्टि फेरि चुलिएको छ । आज बालुवाटारमा साँझ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कुरा नमिल्दा चर्काचर्की नै भएको छ ।
डेढ महिनायताको विवाद समाधानका लागि बसेको बैठकमा अध्यक्ष प्रचण्डले ओलीले एकपक्षीय ढंगले नियुक्तिहरु गरिरहेको भन्दै आपत्ती जनाएको बुझिएको छ । उनले लगानी बोर्डको अध्यक्षमा सुशील भट्टलाई नियुक्ति दिएकोमा प्रश्न उठाएका थिए । ओलीले योग्यताका आधारमा नियुक्ति गरेको जवाफ दिएका थिए ।
प्रचण्डले पनि यस्तै गतिविधि गर्दै गएकैले राजीनामा माग्नुपरेको जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ । बैठकमा भट्टको नियुक्तिको विषयमा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।
प्रचण्डले केन्द्रीय कमिटी बैठक बसी टुंगोमा पुग्न सहमत हुन आग्रह गरेका थिए । तर, ओलीले कोरोना भाइरसको जोखिम बढ्दै जाँदा केन्द्रीय कमिटी डाक्न नसकिने जवाफ दिएका थिए । उनले सचिवालयबाट टुंगो लगाउन भने । यस विषयमा पनि दुई अध्यक्षबीच मत बाझिएर चर्काचर्की परेको थियो ।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए । खनालले पनि ओलीको कार्यशैलीको आलोचना गरेका थिए । उनले पनि भट्टको नियुक्तिमा प्रश्न उठाएको बुझिएको छ ।
सहमतिका लागि भनेर बसेको बैठकमा चर्काचर्की भएपछि विना निष्कर्ष टुंगिएको छ । बुधबार पुनः साँझ ५ बजे बैठक बस्ने सहमति भएको छ ।
यसअघि आज कोभिड १९ रोकथामका लागि चाल्ने कदमका लागि प्रधानमन्त्री ओलीले विज्ञहरुसँग परामर्श लिंदा प्रचण्डलाई पनि निम्तो गरेपनि अनुपस्थित भएका थिए । उनी बस्ने टेबुल नै खाली थियो ।
बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।
ओलीले केन्द्रिय कमिटीको बैठक अस्विकार गरेपछि विरोधः
सत्तारुढ दल नेपाल कम्युनिस्ट (पार्टी) नेकपाको विवादको समाधान केन्द्रीय समितिबाट खोज्नुपर्ने भन्दै १५२ नेताले हस्ताक्षरसहितको माग गरेपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन सम्भव नभए आजको बैठकमा बताए ।
ओलीको यस्तो भनाईसँगै बैठकको माग गर्ने नेकपाका नेताहरु आक्रोशित बनेका छन् । नेताहरुले ओलीको उक्त अभिव्यक्तिले पार्टी निर्माण नभई विघटनतर्फ लगेको पनि बताएका छन् ।
‘उहाँका यस्ता अभिव्यक्ति धेरै छन् । मंगलबार पनि कोरोनासँग जोडेर जे कुरा अध्यक्षले बोल्नुभयो त्यो एकदमै बेठिक छ । त्यसले पार्टी निर्माण गर्दैन’, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, ‘यस्ता अभिव्यक्तिहरुले आन्दोलनलाई क्षति पुर्याउँछ ।’
न्यौपानेले यदि बोल्नै थियो भने बैठकको माग गरेपनि संक्रमण बढेका बेला बस्न उचित छैन भनेर बोलिदिएको भए सकारात्मक सन्देश जाने बताए ।
कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँग मंगलबार बालुवाटारमा छलफलका क्रममा अध्यक्ष ओलीले संकटको बेलामा केन्द्रीय कमिटी, स्थायी कमिटी र महाधिवेशन कुनैपनि सम्भव नहुने बताएका थिए ।