१४ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास भैंसेपाटी नै पुगेका छन् । उनी हिजो साँझ श्रीमती राधिका शाक्यसहित गौतम निवास पुगेको बालुवाटार स्रोतले जनायो । वामदेव निवासमा प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमसहित महासचिव विष्णु पौडेलपनि सहभागी भएका थिए । प्रधानमन्त्रीको सचिवालयले यो भेटवार्तालाई पारिवारिक भेटवार्ता भनेपनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पार्टीभित्र आन्तरिक विवाद चुलिएको अवस्था र आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपालले मोर्चाबन्दी गरिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले वामदेवको साथ खोजेका छन् । हिजो मात्रै ओलीले एकलौटी रुपमा बैठक स्थगित गरेको भन्दै दाहाल नेपाल समूहका बहुमत सदस्यहरुको उपस्थितिमा बालुवाटारमै बैठक सञ्चालन भएको थियो ।
उक्त बैठकमा ओलीलीले एकलौटी रुपमा बैठक स्थगित गरेकोमा आलोचना भएको थियो । तर, आजको बैठक बस्नुअघि उपाध्यक्ष गौतमले दुवै अध्यक्षको नाममा भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसमा एकता महाधिवेशनसम्म ओलीलाई अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालभरि प्रधानमन्त्रीबाट हटाउन नहुनेलगायतका विषय समावेश छन् ।
गौतमले ओलीको समर्थनमा आफूलाई उभ्याएपछि ओलीलाई राहत भएको छ । सोहीअनुसार उनी नेता गौतमसँग विशेष सहमति गर्नेगरि हिजो उनको निवास पुगेको विश्वस्त्र सूत्रले दाबी गरेको छ । यसअघि पनि ओलीले गौतमलाई एकता महाधिवेशनपछि पार्टीको अध्यक्ष बन्न र चुनावी सरकारको प्रधानमन्त्री बन्न अफर गरिसकेका छन् ।
ओलीविरुद्ध गौतमको पछिल्लो कदमः
गौतम आफ्नै यसअघिको अभियान र प्रस्तुतिबाट यूटर्न हुँदै अहिलेको अवस्थामा आइपुगेका हुन् । गौतमले यसअघि प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउन सशक्त अभियान चलाएका थिए । प्रचण्ड पक्षका एकजना स्थायी कमिटी सदस्यले भने, ‘स्थायी कमिटीको बैठक बस्नुअघिदेखि नै ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाट हटाई अगाडि बढ्नुपर्ने भनि खुमलटारमा गएर सबभन्दा बढी क्रान्तकारी कुरा गर्ने उहाँ नै हुनुहुन्थ्यो । ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट आजको आजै हटाउनुपर्ने कुरा उहाँको हुन्थ्यो । बरु अध्यक्ष प्रचण्डले हतार गर्नुहुँदैन भनि भन्नुहुन्थ्यो ।’
ती नेताको भनाइको पुष्टि गौतमले नै विभिन्न समयमा आफ्ना सचिवालयमार्फत सार्वजनिक गरेको सूचनाबाट पनि हुन्छ ।
गौतमले असार ४ गते जारी गरेको एउटा प्रेस नोटलाई हेरौं । तीन बुँदे सो प्रेस नोटमा उनको सचिवालयले ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको उल्लेख गरेको थियो । असन्तुष्टिहरु समयक्रममा बहिर आउने जिकिर गर्दै वामदेव गौतम ओलीविरुद्धको कित्तामा अडिग रहेको प्रष्ट पारिएको थियो । त्यतिबेला प्रधानमन्त्री ओलीको शैलीको विरोध गर्दै स्थायी कमिटीका सदस्यहरुले बैठकको माग गरिरहेका थिए भने प्रचण्ड र माधवकुमार नेपालसँग पनि ओलीको राम्रो सम्बन्ध थिएन ।
गौतमको सचिवालयको त्यही प्रेसनोटमा उल्लेख थियो, ‘एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिँदैछ ।’
यहीबीचमा गौतम सरकारमा जान लागेको हल्ला पनि चलेपछि सचिवालयले यसको पनि खण्डन गरेको थियो । ‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस्, प्रेस नोटमा उल्लेख थियो । उनको निजी सचिवालका अधिकांश प्रेस नोट पत्रकार विश्वमणि सुवेदीको फेसबुकबाट सार्वजनिक हुने गरेको छ । विश्वमणी उपाध्यक्ष गौतमको निजी सचिवालयमा रहेको बताइँदै आएको छ ।
त्यसैगरी, सुवेदीमार्फत नै असार १६ गते अर्काे प्रेसनोट सार्वजनिक भयो । त्यसमा प्रष्ट रुपमा लेखिएको छ कि उपाध्यक्ष गौतम प्रधानमन्त्रीको राजीनामा माग्ने मध्येको हो । सो प्रेस नोटमा भनिएको छ, ‘स्थायी कमिटीको बैठकमा गौतम भने, ‘‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु । अहिले यस्तो काम गर्ने बेला होइन ।’’ हिजो पनि वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने तुरुप फ्यालियो, उहाँले मान्नुभएन ।’ पत्रकार सुवेदीले वामदेवको सन्दर्भका आफूमार्फत आएका कुरालाई आधिकारिक मान्न समेत सञ्चारकर्मीलाई भन्दै आएका छन् ।
यस्तै असार १४ मा गौतमले जारी गरेको प्रेस नोटमा पनि ओलीको आलोचना गरिएको छ । ओली र आफूबीच भएको कुराकानीका क्रममा ओलीलाई पार्टीभित्र छलफल गरेरमात्रै निर्णयमा पुग्न र आवश्यक परे केन्द्रीय समिति बैठक बोलाउन समेत सुझाएको बताएका छन् । यसबाहेक पनि विभिन्न समयमा गोतमले कहिले सचिवालय त कहिले अन्य माध्यमबाट ओलीको आलोचना गर्दै आएका थिए ।
यसरी ओलीविरुद्ध हात घोएर लागिपरेका ओली एकाएक युटर्न हुन पुगेका हुन् । त्यतिबेला स्थायी गौतमले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए र अहिले प्रधानमन्त्री र अध्यक्ष पद कुनैबाट राजीनामा दिनुपर्दैन भनेका छन् । त्यतिबेला पत्रकार सुवेदीले गौतमको भनाईलाई उल्लेख गर्दै आधिकारीक मान्न भनेका थिए भने आज पनि गौतमको प्रस्तावलाई फेसबुकमा राख्दै यो भनाइ ‘आधिकारिक हो’ भनेका छन् ।