८ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विपद् रोक्नका लागि विकास नीति परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
मुलुकमा विकास नीति भनेको नै डोजर नीति भएको उल्लेख गर्दै मन्त्री थापाले यसलाई परिर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
गृहमन्त्रालयमा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री थापाले भन्नुभयो–“विकास नीति भनेकै डोजर नीति भयो, हाम्रा इञ्जिनीयर भनेको नै डोजर चालक भए, त्यसले पनि विपद् निम्त्याउन सहयोग गरिरहेको छ ।”
आम समुदायमा भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, बाढी आउने नदीको किनारमा बसोबास गर्नुहुन्न, पहिराको जोखिम क्षेत्रमा बस्ती बसाउनुहुन्न चेतना जागृत गराउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।