४ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार साँझ भेटवार्ता गरेका छन् । पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् ।
भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला हिजो सचिवालय बैठकसमेत बसेको थियो । हिजोको सचिवालय बैठक सङ्कट समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिवारको बैठकले पार्टीमा देखिएको सङ्कट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।
माधव नेपाल शंसकितः
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष केपी ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार सम्भव नहुने बताएका छन् । त्यसक्रममा नेता नेपालले अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवस्थापन मात्रै अहिलेको समस्या नभएको भन्दै पार्टी र सरकार सञ्चालन विधि, पद्दति र नेताहरुको समझदारीबाटै हुनुपर्ने बताएका थिए ।
सचिवालय बैठकपछि आफु निकटका नेताहरुलाई सचिवालय बैठकबारे ब्रिफिङ गर्दै नेपालले कार्यशैलीगत समस्या समाधानका लागि मौखिक सहमतिले मात्रै नहुने भएकाले लिखित र मूर्त प्रस्ताव ल्याउन अध्यक्षद्धयलाई आग्रह गरेको बताएका थिए ।
‘अहिले पार्टी र सरकारमा देखिएको प्रमुुख समस्या दुई अध्यक्षको व्यवस्थापन मात्रै होइन । पार्टी र सरकार सञ्चालन कसरी गर्ने ? विधि, पद्दति र मापदण्डका आधारमा चल्ने कि नचल्ने, नेताहरुबीच समझदारी कायम गर्ने कि नगर्ने ? यी कार्यशैलीगत समस्या हुन’, नेता नेपालले दुवै अध्यक्षप्रति लक्षित गर्दै आफ्नो धारणा सुनाएका थिए ।
उनले बैठकमा भनेका थिए,‘हामी जनताप्रति उत्तरदायी हुने कि नहुने ? यदि दुई अध्यक्ष मिल्दैमा सबै समस्या समाधान हुन्छ भन्ने ठान्नुभएको छ भने त्यो मानिँदैन ।’ पार्टीमा एकता र सहकार्यका लागि समझदारी जरुरी रहेको भन्दै नेता नेपालले त्यसका लागि मूर्त र लिखित प्रस्ताव ल्याएपछि छलफल गर्न सकिने पनि बताएका थिए ।
‘म पार्टीभित्र एकता र सहकार्यका लागि समझदारी कायम हुनुपर्छ भन्ने पक्षमै छु । त्यसका लागि मूर्त र लिखित प्रस्ताव चाहिन्छ नै । तर देशको परिस्थिति हेर्दा अहिलेकै अवस्थामा मंसिरमा महाधिवेशन गर्न सम्भव छ जस्तो लाग्दैन । गर्नेनै हो भने पनि लिखित प्रस्ताव ल्याउनुस् अनि छलफल गरौंला’, नेता नेपाले बैठकमा बोलेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘यदि दुई अध्यक्ष मिले हुन्छ भन्ने तपाईहरुको बुझाई हो भने म फरक अभियानसहित अघि बढ्न बाध्य हुन्छु ।’
नेता नेपालले यस्तो धारणा सुनेपछि अध्यक्ष प्रचण्डले पनि उहाँले भनेको ठिकै हो भनेर सहमति जनाएका थिए । बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका ओलीले धारणा राखेका थिए । धेरै समय बैठकमा आफ्नो कुरा राखेका ओलीले आफुलाई सम्मानजन जिम्मेवारी हस्तान्तरणको अवसर दिन नेताहरुसँग आग्रह गरेका थिए ।
‘मलाई सम्मानजनक जिम्मेवारी हस्तान्तरणको अवसर दिनोस्, मंसिरमा महाधिवेशन गराएर पार्टी अध्यक्षबाट हट्छु, सरकारचाहिँ पाँचै बर्ष मै चलाउँछु’ ओलीको भनाई थियो । अघिल्ला बैठकहरुमा भन्दा नरम ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले काम गर्र्दा गल्ती भएको भए सुधार्न समेत तयार रहेको विश्वास दिलाउन खोजेका थिए ।
नेता नेपालको भनाईप्रति सहमति जनाउँदै अर्का बरिष्ठ नेता झलनाथ खनालले पनि दुई अध्यक्षको चोचोमोचोले मात्रै नहुने धारणा राखेका थिए । चार घण्टाको छलफलपछि बैठकबारे व्रिफिङ गर्न ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवास गएका थिए । ओली प्रचण्ड २ घण्टा भन्दा बढी शीतलनिवासमा बसेर फर्किएका थिए ।