११ असार, सुनसरी । सुनसरीको विभिन्न स्थानीय तहले आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर तथा गाउँ सभाबाट पारित अगामी आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
यसै क्रममा जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरीले कोरोना रोकथाम तथा नियन्त्रण गर्नेदेखी स्वरोजगार सृजना गर्नेसम्मको कार्यक्रम सहित आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
धरान उपमहानगरपालिकाको सातौं नगरसभाले कुल १ अर्ब ७२ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षता र प्रमुख अतिथि प्रदेश १ सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितीमा नगर सभामा बजेट प्रस्तुत गरेको हो । प्रमुख अथिति भण्डारीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेपछि नगरसभा औपचारिक रूपमा सुरू भएको थियो ।
मंगलबार साँझ बसेको उपमहानगरको कार्यपालिका बैठकमा बजेट सिलिङको विवाद उत्पन्न भएपछि, पुनः बुधबार विहान बैठक बसी बजेट पारित गरेपछि नगरसभाको सुरू भएको थियो ।
दिउसो १ बजेबाट सुरू हुने भनेको नगरसभा कायर्पालिका बैठकका कारण समय लम्बिन गई साँझ ४ बजेबाट मात्रै सुरू भएको थियो । नगरसभामा नगर प्रमुख तिलक राईले २०७७/०७८ का लागि १ अर्ब ७२ करोडको बजेट प्रस्तुत गर्नुभयो ।
यसैबीच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १ अर्ब ७८ करोड रुपियाँ बजेट ल्याएको छ ।
उपप्रमुख लक्ष्मी गौतमले प्रस्तूत गरेको बजेट अनुसार इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/७८ का लागि १ अर्व ७८ करोडको वजेट सार्वजनिक गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उपमहानगरको ७ औँ नगरसभामा उपप्रमुख लक्ष्मीगौतमले वजेट नीतितथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरसभामा संविधानसभाका सभासद रेवती रमण भण्डारी, प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा र लिलम वस्नेतले शुभकामना ब्यक्त गर्नुभयो ।
कुल एक अर्व ७८ करोड रुपियाँ विनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्व ४ करोड ७५ लाख र वित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । वजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।
उता सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आ.व.२०७७/७८ को पारित ९९ करोड ३५ लाख ६ हजार १०० रुपैँयाँ बराबरको आयव्यय सहितको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
उपप्रमुख जमुना गौतम पोखरेलले प्रस्तुत गर्नुभएको बजेटमा प्राशनिक चालू तर्फ १८ करोड ४३ लाख ५० हजार रुपियाँ, कार्यक्रम खर्च चालु ९ करोड ५० लाख ६० हजार एक सय र पूँजीगत तर्फ ४५ करोड ७० लाख र सशर्त तर्फ २५ करोड ७१ लाख ९७ हजार रुपियाँ गरी कुल जम्मा रु ९९ करोड ३५ लाख ६ हजार १०० रुपियाँ रहेको छ ।
बजेट छैठौं नगर सभाबाट पारित गर्दै सार्वजनिक गरेको नगर प्रमुख राजन मेहताले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सासद ज्योती सुब्बा, नेपाली काग्रेंसका जिल्ला सचिव केदार भण्डारी, नेकपाका नगर अध्यक्ष तिर्थ अधिकारी, पूर्व नगर प्रमुख खेमराज पोखरेल सहितको उपस्थिती रहेको थियो ।
उता दुहवी नगरपालिकाले आ.व. २०७७/७८ को पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत गरिएको बजेटमा समग्र चालू तर्फ ४५ करोड ८४लाख १० हजार ४७६ रुपियाँ र पूँजीगत तर्फ २२ करोड १५ लाख ८२ हजार ९७६ रुपियाँ गरी कुल जम्मा ६७ करोड ९९ लाख ९२ हजार ९७६ रुपियाँ रहेको छ । बजेट सातौं नगर सभाबाट पारित गर्दै सार्वजनिक गरेको नगर प्रमुख वेदनारायण गच्छदारले जानकारी दिनुभयो ।
उता गढी गाउँपालिकाले आ.व. २०७७/७८ को पारित ३९ करोड रुपियाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपाध्यक्ष राजकुमारी चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा समग्र चालू तर्फ २० करोड रुपियाँ र पूँजीगत तर्फ १९ करोड १५ गरी कुल जम्मा ३९ करोड रुपियाँ रहेको छ । बजेट पाँचौं नगर सभाबाट पारित गर्दै सार्वजनिक गरेको अधयक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।
सुनसरीका सबै स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेको छ । धरान र इटहरी उपमहानगरसगै इनरुवा नगरपालिका, दुहबी नगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाले समेत बजेट ल्याएको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, गढी गाँउपालिका, बर्जु गाउँपालिका, भोक्राहा नरसिह गाउँपालिका र देवानगञ्ज गाँउपालिकाले समेत बजेट, नीति तथा कार्यक्रम ल्याएको छ ।