गर्मी वढे सँगै तराईमा सर्पदंशका बिरामी बढ्न थाले

गर्मी वढे सँगै तराईमा सर्पदंशका बिरामी बढ्न थाले


७ असार, काठमाण्डौँ । गर्मी र वर्षाको मौसम सुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्यांकले सर्पदंशका बिरामी बढेको देखाएको छ ।

उपचार केन्द्रमा गत चैत्र महिनामा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाख महिनामा ४४ को उपचार भएको थियो तर जेष्ठ महिनामा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको छ ।

असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार ५०० का हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा लिई रहेका छन् । चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उहाँ बताउनुहुन्छ ।
तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउ जस्ता सर्पले टोकेका बिरामी यहाँ आउने गरेको उपचार केन्द्र इन्चार्ज देवी भण्डारीले बताउनुभयो ।

गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गर्नुभयो । त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने, दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उहाँको सुझाव छ ।

त्यसैगरी राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर