६ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभयो । नीति तथा कार्यक्रममाथि कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल, राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण, समाजवादी पार्टीकी सांसद सरिता गिरी, नेमकिपाका सांसद प्रेम सुवाल, जनमोर्चाकी सांसद दुर्गा पौडेलले हालेको संशोधन बहुमतले अस्विकार गरेपछि खारेज भएको थियो ।
नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुभएको थियो । प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।